यात्रा र व्यापार

चिनियाँ नाकासम्म पुग्ने रसुवागढी-स्याफ्रुबेंसी सडक स्तरोन्नतीको काम सुरु

रसुवा। चिनियाँ नाकासम्म पुग्ने रसुवागढी-स्याफ्रुबेंसी सडक स्तरोन्नतीको काम सुरु भएको छ।

शनिबार गोसाईकुण्ड गाउँपालिकास्थित घट्टेखोलामा चिनियाँ र नेपाली अधिकारीहरुले रिवन काटेर औपचारिक रुपमा सडक स्तरोन्नतीको काम सुरु गरेका छन्। चीनको तर्फबाट चाईना तिब्बत इन्टरनेशनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टरको निर्देशक, निर्माण कम्पनीको प्रोजेक्ट म्यानेजर र नेपालका तर्फबाट विकास सहयता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा लगायतले रिबन काटेर सडक विस्तार सुरु गरेका हुन्।

सडक विस्तार औपचारिक रुपमा सुरु गरिएको भएपनि साईटका काम भने अक्टोबर ८ बाट सुरु हुने गल्छि-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए। 

उनका अनुसार यो अवधीमा चिनियाँ निर्माण कम्पनीले साईटमा क्याम्प राख्ने, इक्विपमेन्टहरु ल्याउने लगायत पूर्वतयारीका कामहरु सक्नेछन्। नेपालका तर्फबाट सडक सिमानामा पर्ने घर, टहरा, रुख, विद्युतका पोलहरु हटाउने, जग्गा अधिग्रहण गर्ने, मुआब्जा वितरण गर्ने लगायतका काम हुनेछ। 

चिनियाँ कम्पनीले निर्माण गर्ने भएपनि साईट क्लियर गरेर दिनुपर्ने छ। करिव ८२ वटा घर टहरा, ३२३ वटा विजुलीका पोल हटाउनु पर्नेछ। साईट क्लियर गर्ने काम सुरु भैसकेको भण्डारीले जानकारी दिएका छन्।

महाशाखा प्रमुख थापाले स्याफ्रुबेसी- रसुवागढी सडक निर्माणपछि नेपाल र चीनको सम्वन्धलाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने दाबी गरेका छन्। उनले चीनले कोदारी राजमार्ग, काठमाडौं चक्रपथ, लगायत सडक निर्माण, भुकम्पले क्षति पुर्याएका हेरिटेज विल्डिङ पुननिर्माण  तथा विकासमा  सहयोग पुर्याउदै आएको बताए। 

यो सडक निर्माणले नेपाली इन्जिनियर, कामदार लगायतको क्षमता विकासमा सहयोग पुग्नेछ। चिनियाँ कम्पनीले समयमा नै आयोजना पुरा गर्नेमा विश्वस्त रहेको भन्दै नेपाल तर्फबाट गर्नुपर्ने सबै सहयोग गरिने बताए। 

निर्माणको जिम्मा चाईना टिनालु कम्पनी लिमिटेडले पाएको छ। गत जनवरीमा नै टेण्डर अवार्ड गरिएको हो। आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गत बर्ष नै चिनियाँ कम्पनीले तयार पारेको हो। त्यसलाई सडक विभागले स्वीकृति दिएपछि ठेक्का प्रक्रिया सुरु गरिएको थियो।

१५.८  किलोमिटर लम्वाईको यो सडक करिव ३९ महिनामा सम्पन्न गर्नेगरि ठेक्का लगाइएको छ। निर्माणका लागि चार अर्ब ३२ करोड रुपैयाँ खर्च हुनेछ। चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा सडक विस्तार गर्न लागिएको हो। 

हालको सिङ्गल लेनको कच्ची सडकलाई स्तरोन्नती गरेर डबल लेनको कालोपत्रे बनाउन लागिएको हो। सडकको चौडाई साढे ८ मिटर हुनेछ। यसअघि सडकको ट्रयाक खोल्ने र सवारीसाधन संचालन गर्न सक्ने पनि चिनियाहरुले नै बनाएका थिए।

चिनियाँ अधिकारीहरुले यो सडक दुई देश जोड्ने भएकाले महत्वपुर्ण रहेको भन्दै प्राथमिकता राखेको बताएका छन्। चिनियाँ भूभागतर्फ मितेरी पुलदेखि केरुङसम्म कालोपत्रे सडक निर्माण भैसकेको छ। सरकारले आगामी तीन बर्षमा काठमाडौंदेखि रसुवागढीसम्म एसियन स्ट्याण्डर्डको कालोपधे सडक निर्माण गर्ने लक्ष्य लिएको छ। 

भुकम्पपछि तातोपानी नाकामा क्षति पुगेको थियो। त्यसपछि भोटेकोशीमा आएको बाढीले दुई देश जोड्ने मितेरी पुल र सडक नै बगाईदिएको थियो। जसले गर्दा नाका पुर्ण रुपमा बन्द भएको थियो। 

चीनसँग यातायात सञ्जाल टुटेपछि रसुवागढी नाका संचालनमा ल्याईएको थियो। यद्दपी अहिले तातोपानी नाका पनि पुन संचालनमा आएको छ। राजधानीबाट छोटो दुरीमा चीनसँग जोड्ने नाकाको रुपमा विकास गर्ने उद्देश्यका साथ गल्छि-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी रसुवागढी सडक आयोजना सुरु गरिएको हो। स्रोत : बिजमाण्डु

Leave a Comment