कला र संस्कृति

विजयको पर्व दसैँ

मष्टपूजक, वैदिक सनातन, बौद्ध बोन, शैव परम्पराका किरात, प्रकृतिपूजक, शिख, आदि धर्मका सम्पूर्ण ॐकार परिवारका साधनामा शक्तिको पूजाको पद्धति कुल परम्परादेखि चलिआएको छ । शक्तिविना कुनै पनि कार्य बन्न सक्दैन । आसुरी शक्तिको अत्याचारबाट राष्ट्र, समाज र सात्विक भावका उपासकको कष्ट निवारणका लागि दैविक शक्तिको धर्तीमा आगमन हुने गर्छ ।

देवताको पीडालाई हरण गर्न भगवती नवदुर्गाको प्रादुर्भाव भएको हो । देवताको संगठित शक्ति महाशक्ति दुर्गा हुन् । चान्द्रमासअनुसार आश्विन शुक्लपक्षको प्रतिपदादेखि दशमीसम्म शक्ति उपासना गर्ने पद्धतिलाई दसैँ भनिन्छ । ‘नवदुर्गा भवानी’ संगठित शक्तिको प्रतीक हो । घटस्थापना अश्विन शुक्ल प्रतिपदाको दिन शुद्ध माटो, गोबरले घर लिपी दियो कलश गणेशको विधिसहित पूजा गरी घटस्थापना गर्ने विधान छ । नवदुर्गा भवानीको आह्वान, स्थापना र पूजा गर्नुपर्छ । 

वर्षमा चारवटा नवरात्र पर्छन् । तीमध्ये आश्विन शुक्ल, चैत्र एवम् आषाढ शुक्ल, माघ शुक्ल प्रतिपदादेखि आरम्भ हुने दैवी शक्ति उपासनाको पद्धति नै नवदुर्गा भवानीको साधना पद्धति हो । गहुँ र जौ अन्य प्रकारका अंकुर आउने बीज मिसाएर जमरा राख्नुपर्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । दशमीका दिन विजयाको पूजा गरी टीका जमरा प्रसाद लगाइन्छ ।

षष्ठी तिथिमा बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन दसंैँघरमा नवपत्रिका प्रवेश गराउने विधिलाई फूलपाती भित्र्रयाई भद्रकाली, सरस्वतीको पूजा गर्नुपर्छ । अष्टमीमा कालरात्रीको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ । खस मष्टपूजकले बाज उडाउने र बाज अंकित झन्डा आफ्नो घरमा राख्नुपर्छ ।

शस्त्रास्त्रको पनि पूजा गर्नुपर्छ । महानवमीमा नवदुर्गा स्वरूप नौजना कन्या र भैरव स्वरूप बटुकको पूजा गर्नुपर्छ । भगवती दुर्गाले चण्डमुण्ड प्रचन्ड, शुम्भ–निशुम्भ, रक्तबीज आदि दैत्यलाई बध गरेको हुनाले दुष्ट दानवको बध गरी सम्पूर्ण लोकको कल्याण गर्नुभएको सन्दर्भ, भगवान् रामले रावणको बध गरेको प्रसंगलाई असत्यमाथि सत्यको विजयका रूपमा विजया दशमी मनाइन्छ ।

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश गर्ने सामथ्र्य, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ । आरोग्यताका लागि शिरमा जमरा लगाइन्छ । नवपत्रिकालाई बाजागाजासहित दसैँ घरमा भित्र्रयाइन्छ । सात्विक भोजन गरी कुभिन्डो, नरिवल आदिको बली दिइन्छ । 

निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ र जमराबाट शीतलता प्राप्त हुन्छ

घटस्थापनाका दिन शुभसाइतमा नयाँ फूलको स्वरूप गहुँ, जौको जमरा राखिन्छ । विजयादशमीको दिन भगवतीलाई अर्पण गरी प्रसादको रूपमा लगाइन्छ । गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्यलाभ हुने शास्त्रीय मान्यता छ । निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्ट मेटिएर जान्छन् । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको लाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा, आदि नौ प्रकारका पल्लवहरू दसैँघरमा भित्र्रयाउने कार्यलाई फूलपाती भित्र्रयाउने भनिन्छ ।

वर्षा ऋतु सिद्धिएर शरद् ऋतुको स्वागतका लागि नयाँ पालुवा घरमा भिœयाउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणु औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यी औषधियुक्त पालुवालाई फूलपातीपछि औषधीय गुणले युक्त भएका पालुवाको लेप लगाउनाले रोगव्याधि निको हुन्छ ।

वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यको संगम हो । वेदमा आयुधको ’boutमा प्रशस्त चर्चा पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशूल, वज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । शक्तिका उपासक जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छन् नै । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध (हतियार) छँदै छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दू धर्मावलम्बी अहिंसावादी हुन्, तर बैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्ध्याउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् ।   

बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी १० प्रकारका विकार छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुण हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो ।

कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनालाई नवदुर्गाको मन्दिरमा लगेर चढाऊँ अर्थात् त्यागौँ भन्ने शास्त्रीय मान्यता हो । तर, मानिसले ती प्रतिनिधि पात्रलाई नै बलीको रूपमा चढाउन थाले । महाअष्टमीको दिन महामाया १८ हात भएकी महिषासुर मर्दिनी भगवतीको पूजा गरी सौर्यता, पुरुषार्थ सिद्धीका लागि देवीको स्तुति तथा प्रार्थना गर्नुपर्छ । 

https://www.nayapatrikadaily.com/news-details/26428/2019-10-01

Leave a Comment