संघ अपडेट

नेपाल भ्रमण वर्ष प्रवर्धनकालागि एनआरएनएसंग समझदारी

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच पर्यटन प्रदर्धनसम्बन्धी १७ बुदे समझदारी भएको छ ।
एनआरएनएका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सचिवालयको तर्फबाट सुरज वैद्य तथा एनआरएनएको तर्फबाट नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तथा सचिव केदारबहादुर अधिकारी, सचिवालयका संयोजक सुरज वैद्य, तथा एनआरएनएका पदाधिकारीको उपस्थिती रहेको थियो ।

समझदारीको पाठ

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र गैर आवासीय नेपाली संघ वीच नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी समझदारी
नेपाल सरकारले बार्षिक कम्तिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षको प्रवर्द्धन गर्नको लागि नेपाल भ्रमण वर्ष, २०२० को सचिवालय प्रथम पक्ष ९यसपछि सचिवालय भनिने० र गैर आवासीय नेपाली संघ द्वितीय पक्ष ९यसपछि संघ भनिने० वीच निम्नानुसारका बुँदाहरुमा सहमत भई समझदारी पत्रमा हस्ताक्षर भयो ।
तपशिल
१. संघले नेपाल भ्रमण वर्ष, २०२० का सन्दर्भमा विश्‍वभरबाट एक नेपालीले एक बिदेशी साथी नेपाल पठाउ अभियान सन्चालन गर्ने छ ।उक्त कुराको अभिलेखिकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने छ । सचिवालयले सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने ब्यक्ति वा संघ संस्थालाई सम्मान गर्नको लागि नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।
२. संघले नेपाल भ्रमण वर्ष, २०२० अवधिभर संघका विश्वभरि गरिने औपचारिक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने छ संघको आयोजनामा नेपालमा हुने विभिन्‍न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भुमिका सचिवालयले निर्वाह गर्नेछ ।
३. संघले विश्वभरी रहेका गैर आवासीय नेपालीहरुलाई सन् २०२० मा Spend Holiday in Nepal with Family and Friends अभियान संचालन गर्नेछ ।
४. संघले विदेश स्थित नेपाली दूतावास र नियोगहरुमा “भ्रमण वर्ष प्रवर्द्धन कक्ष” स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने छ ।
५. नेपाल भ्रमण वर्ष, २०२०को प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले बर्षभरी विश्वका प्रमुख शहरहरुमा कार तथा साईकल र्र्याली गर्नेछ ।
६. संघका विश्वभरी रहेका सदस्य तथा विभिन्न नेपाली संघ संस्थामा आबद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यवसायिक साझेदार संघ संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्नेछ ।
७. संघले गैर आवासीय नेपालीका विश्वभरिमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामाग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचार प्रसारका सामाग्रीहरु वितरण गर्नेछ ।
८. संघले विश्वभरी छरिएर रहेको सम्पूर्ण सदस्य लगायतका नेपाली तथा बिदेशी मित्रहरुका सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष, २०२० लोगो सहितको स्टिकर टास्ने व्यवस्था मिलाउने छ ।
९. संघले विश्वभरिमा कम्तिमा ५० देशमा Miss NRN International आयोजना गर्ने र उक्त प्रतियोगिताको Finale २०२०, जुन महिना भित्र नेपालमा गर्नेछ।
१०. सचिवालय र संघको समन्वयमा आगामी जनवरीको पहिलो हप्तामा हुने नेपाल भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउनका निम्ति सम्बन्धित देशका कुटनीतिक नियोगहरुसँग समन्वय गरी कार्यक्रम संचालन गरिनेछ ।
११. संघले सम्बन्धित देशका सञ्चार माध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्ने छ ।
१२. सचिवालय र संघको समन्वयमा विश्‍वभर रहेका नेपाली तथा विभिन्‍न संघसंस्थाहरुको सामाजिक सञ्जाल तथा वेवसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामाग्रीको प्रवाह गरिनेछ ।
१३. संघले विश्‍वभरीका विभिन्‍न देशहरुका सार्वजनिक स्थलहरु जस्तै बस स्टेशन, रेल्वे स्टेशन तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामाग्री वितरण गर्ने, प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने छ ।
१४. सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टूर अपरेटर, मिडिया लगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवर्द्धन गर्ने छ ।
१५. सचिवालयले कुटनीतिक नियोगसँग समन्वय गरी सम्बन्धित देशमा वितरण गरिने प्रचारात्मक सामाग्री उत्पादन गरी वितरण गर्ने छ ।
१६. सचिवालयले एक नेपालीले कम्तिमा एक विदेशी साथी नेपाल पठाउ अभियान अन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाहरुका लागि विभिन्न किसिमको छुटको व्यवस्था मिलाउने छ।
१७. उल्लेखित कार्यहरुमा लाग्ने आर्थिक श्रोतको प्रबन्ध संघले गर्नेछ ।

पर्यटन दशक मनाउन सके जीडीपीमा पर्यटनको योगदान दश प्रतिशत : पर्यटन मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नमा एनआरएनएका साथीहरुको भूमिका ठूलो हुने बताउनुभएको छ । एनआरएनएका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएपछि पर्यटनमन्त्री भट्टराईले भन्नुभयो, ‘पर्यटन वर्ष २०२० लाई सफल पारेर मात्रै हुदैन् । आगामी दशकलाई नै पर्यटन वर्ष मनाउनुपर्छ ।’
विमानस्थलमा देखिएको समस्याहरु विस्तारै समाधान हुदै जाने बताउदै उहाँले भन्नुभयो, ‘यहाँका समस्यालाई मात्रै इष्यू नबनाउन एनआरएनएका साथीहरुलाई आग्रह समेत गर्नुभयो । यस्ता समस्याहरु विश्वका सवै विमानस्थलमा देखिन्छ । तर, यसको मतलब यहाँ सुधार नै नगर्ने भन्ने चाही होइन ।’
मन्त्री भट्टराईले विमानस्थल तथा इमिग्रेशन समस्याहरु चाँडै समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल लगायत पोखरा, निजगढमा विमानस्थल बनेपछि हवाई कनेक्टिभिटी बढ्ने उहाँले बताउनुभयो । त्यसपछि त्यस्ता स–साना समस्याहरु समाधान हुदै जानेछन् ।
मन्त्री भट्टराईका अनुसार केही महिना भित्रै इमिग्रेसनमा ड्राष्ट्रिक चेन्ज हुनेछ । त्यसपछि एनआरएनएका साथीहरुको गुनासो विस्तारै कम हुदै जानेमा आफु ढुक्क छु । ‘नेपाल भ्रमण वर्ष २०२० लाई मात्रै पर्यटन वर्षको रुपमा मनाउने होइन्’, मन्त्री भट्टराईले भन्नुभयो, ‘देशको दिगो विकाशकालागि आगामी दशकलाई नै भ्रमण वर्षको रुपमा मनाउनु पर्छ ।’
‘आगामी वर्ष हामीले भ्रमण वर्ष मनाउँदै छौँ र सफल पनि हुनेछौ,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘तर २०२० मै यो अभियान सम्पन्न हुँदैन, सुरुवात मात्रै हुनेछ । देश विकाशकालागि दशकलाई नै भ्रमण वर्षको रुपमा मनाउनुपर्छ ।’
मन्त्री भट्टराईले कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रले कम्तीमा १० प्रतिशत योगदान पुर्याउन सक्ने बताउनुभयो । यसो हुन सक्यो भने प्रत्येक वर्ष एक लाखले रोजगारी पाउनेछन् । दशकभर पर्यटन वर्ष मनाउन सक्ने हो भने वार्षिक ३५ लाख पर्यटक भित्र्याउन सक्ने मन्त्री भट्टराईले बताउनुभयो । यसकालागि पूर्वाधारहरु पनि धमाधम निर्माण हुदै गएको छ ।
नेपाल भ्रमण वर्षको उद्घाटन समारोह जनवरी १ मा हुने भएपनि त्यो साता विश्वभर रहेका सवै नेपाली दूतावासले कार्यक्रम गर्नेछ । कार्यक्रम सफल पार्न एनआरएनएका साथीहरुको ठूलो भूमिका हुने बताउँदै मन्त्री भट्टराईले भन्नुभयो, ‘कार्यक्रम सफल पार्न एनआरएनएका साथीहरुले सहयोग गर्नुपर्छ ।’
नेपाल भ्रमण वर्ष सफल बनाउन एक जना फोकल पर्सन तोक्न मन्त्री भट्टराईले एनआरएनएका अध्यक्षलाई आग्रह समेत गर्नुभयो । एनआरएनएका साथीहरुले विदेशमा सिकेको शीप, ज्ञान र पैसा नेपालमा लगानी गदै जान पनि उहाँले आग्रह गर्नुभयो । एनआरएनएको लगानीबाट आफू उत्साहित भएको भन्दै उहाँले अब भ्रमण वर्ष सफल बनाउन समेत एनआरएनएले भूमिका खेल्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालमा पर्यटक भित्र्याउनकालागि ठोस कदम चाल्नुपर्ने बताउनुभयो । नेपालको समाचार नकारात्मकहरु मात्रै भाईरल हुने गरेको बताउदै उहाँले नेपालको हिमाल तथा बुद्धलाई प्रचारप्रसार गर्नुपर्नेे बताउनुभयो ।
स्वीजरल्याण्डको सानो टापुहरुकै भरमा लाखौं पर्यटक भित्राउने गरेको उद्हारण दिदै पन्तले नेपालमा पर्यटनको प्रचुर संभावना रहेको वताउनुभयो ।

Leave a Comment