आतिथ्यता

राष्ट्रपतिको भ्रमण लगत्तै म्यानमारकी स्टेट काउन्सिलर सुकी नेपाल आउदै

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न म्यानमारको स्टेट काउन्सिलर आङ सान सुकी नेपाल आउने हुनु भएको छ ।

राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमार भ्रमणका क्रममा सुकीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उहाँको भ्रमण तयारी सुरु गरेको हो।

राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमणमा सामेल भएर सोमबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सुकी नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि नेपाल आउन लागेको जानकारी गराउनु भएको हो । राष्ट्रपतिको म्यानमार भ्रमणका बेला दुई देशबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान गर्न महत्वपूर्ण सम्झौता भएको पनिमन्त्री ज्ञवालीले बताउनुभयो।

सुकीको नेपाल भ्रमण मिति तय नभए पनि ‘म्यानमारका स्टेट काउन्सिलर सुकीले नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने चाहना व्यक्त गर्नुभएको छ,’ मन्त्री ज्ञवालीले भन्नुभयो, ‘हामीले उक्त भ्रमणका लागि आवश्यक प्रबन्ध र सुरक्षा मिलाउने छौं।’

आइतबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमणको उद्घाटनमा नेपाली दूतावास रहेका सम्बन्धित देशका पर्यटनमन्त्रीलाई नेपाल ल्याउने घोषणा गर्नुभएको थियो । विश्वभरका ख्यातिप्राप्त नेता, कलाकार तथा सेलिब्रेटीलाई नेपाल बोलाएर उनीहरूको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन गर्ने सोचमा मन्त्रालय रहेको उहाँको भनाइ थियो।

नेपाल भ्रमण वर्षलाई प्रभावकारी बनाउन विश्व प्रख्यात व्यक्तित्वलाई पर्यटन प्रवद्र्धनको जिम्मा दिँदा संसारभर गहिरो प्रचार–प्रसार हुन जाने मन्त्री भट्टराईको भनाइ थियो। जनवरीको पहिलो हप्ता संसारभरबाट एकैचोटि नेपाल भ्रमण वर्षको उद्घाटन हुने भन्दै मन्त्री भट्टराईले सम्बन्धित देशका प्रधानमन्त्री, पर्यटनमन्त्री, राजदूत, पर्यटन व्यवसायीको संलग्नतामा कार्यक्रमलाई भव्य बनाउने पनि बताउनु भएको थियो । हालै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणले पनि विश्वभर नेपालको गहिरो प्रचार–प्रसार भएको उहाँको भनाइ छ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान तान्न सफल भएको भन्दै मन्त्री भट्टराईले उक्त भ्रमणपछि चिनियाँ पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने अपेक्षा गर्नु भएको थियो ।

नेपालको पर्यटन प्रवद्र्धनमा विश्वका प्रख्यात सेलिब्रेटीहरूलाई सद्भावनादूत नियुक्त गर्ने लक्ष्यअनुरूप गत शनिबार मात्रै चिनियाँ अभिनेत्री सू छिङ (समर किङ)त्यस्तो दूत नियुक्त गरिएको थियो। चिनियाँ ट्विटर मानिने ‘वैपो’ मा चार करोड फलोअर्स रहेकी सू छिङलाई उक्त पदमा नियुक्त गर्दा चीनलगायत युरोपसम्म नेपाल भ्रमण वर्षको प्रचार हुने अपेक्षा पर्यटनमन्त्रीले उक्त कार्यक्रममा व्यक्त गर्नुभएको थियो । नागरिकन्यूजबाट

Leave a Comment