आतिथ्यता

‘ब्रिटिश मित्र’हरुलाई नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धन गर्न पर्यटन मन्त्री भट्टराईको निम्तो (फोटो फिचर)

लन्डन— सगरमाथा आरोहण गरि सकेका ब्रिटिश पर्वतारोहीहरुले नेपालको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा लन्डनस्थित नेपाली दूतावासद्वारा मंगलबार बेलुका आयोजित कार्यक्रममा प्रस्तुति गर्दै उनिहरुले जीवनमा एक पटक नेपाल जानै पर्ने उद्घोष गरे। १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिश पर्वतारोही केन्टन कुलले पहाड भन्दा पनि नेपाली जनताले आफुलाई संधै प्रभावित गरेको बताए। “यहाँ ब्रिटेनमा हामीले समुदायको महत्व बिर्सदै गएका छौं, तर नेपालीहरुले समुदायको महत्व कायमै राखेका छन्, त्यसैले हामीले उनीहरुबाट सिक्नु पर्छ,” उनले भने। उनले आउंदो वर्ष फेरी नेपालको भ्रमणमा जाने योजना पनि सुनाए।
त्यस्तै सगरमाथा आरोही रेबेक्का विलियम्सले पहाडहरु नेपालको परिचयको विम्ब बनेको बताइन्। उनले शेर्पा समुदायको पनि प्रशंसा गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री योगेश भट्टराईले ब्रिटिश मित्रहरुलाई नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धन गर्न र नेपाल भ्रमण गर्न आमन्त्रण गरे।

भूकम्प पछि धेरै जसो सम्पदाहरुको पुनर्निर्माण भै सकेको र नेपाल एक सुरक्षित गन्तव्य भएको भन्दै मंत्री भट्टराईले सरकारले पूर्वाधार विकास गर्न काम गरिरहेको बताए।

उनले आउंदो मार्च २०२० सम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण सम्पन्न भै सक्ने र सन् २०२१ को मध्य सम्ममा पोखरा विमान स्थलको निर्माण सम्पन्न गर्ने गरी काम भै रहेको पनि जानकारी गराए।

मंत्री भट्टराईले नेपालको सामाजिक तथा आर्थिक विकासमा युकेले पुराएको सहयोगको प्रशंसा पनि गरेका थिए।

कार्यक्रममा बोल्दै ब्रिटेनको सत्तारुढ कंजर्भेटिभ पार्टीका सांसद डा म्याथ्यु अफोर्डले नेपाली समुदाय सहयोगी, सहिष्णु र मिलनसार भएको बताए। उनले नेपालीहरुले बेलायतमा राजनीतिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा सफलता हासिल गरिरहेको जनाए। उनले आउंदो वर्ष नेपालको भ्रमण गर्ने आफ्नो योजना पनि सुनाए।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले ब्रिटेन नेपालको सबैभन्दा ठूलो द्वीपक्षीय विकास साझेदार रहेको भन्दै ब्रिटेनबाट नेपाल जाने पर्यटक हरुको संख्या बढीरहेको बताए। उनले यो वर्ष ७५,००० र आउंदो वर्ष एक लाख ब्रिटिश पर्यटकहरु नेपाल लैजाने उद्देश्यले ब्रिटेनमा प्रवर्धनात्मक कार्यक्रम शुरु गरिएको जानकारी पनि दिए।

समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पाटाका सीइओ डा मारियो हार्डीले नेपाल’bout प्रस्तुति गरेका थिए। त्यस्तै सयपत्री सांस्कृतिक समूहका सदस्यहरुले रोचक नृत्य प्रश्तुत गरेका थिए। कार्यक्रममा ब्रिटेनमा रहेका पर्यटन व्यवसायीहरु तथा वर्ल्ड ट्राभेल मार्केटमा भाग लिन आएका नेपाली पर्यटन व्यवसायीहरुको पनि उपस्थिति थियो।

कार्यक्रमको संचालन दूतावासका उपनियोग प्रमुख शरद राज आरणले गरेका थिए।

नेपाल ब्रिटेन डट कमबाट

Leave a Comment