पर्यटन

सोलो वुमन ट्राभल च्यालेन्जकी सन् २०१८ की विजेता पूजा रिजाल भन्छिन्, ‘महँगो छैन यात्रा’

‘त्यो दिन धुलिखेलको होटलमा बसेर धेरै रोएँ। अब म अघि बढ्न सक्दिन भन्ने लाग्यो’, उनी सुनाउँछिन्, ‘फेरि एक दिन हेरौँ न के हुँदो रहेछ भनेर आँट जुटाएँ र अघि बढेँ।’
लामो दूरी एक्लै हिँड्नुलाई आत्मविश्वाससँग जोडिन्छ। एक वा दुई–चार पटक एक्लै हिँड्नु भनेको जिन्दगीभर एक्लै हिँड्नु होइन। एक्लै हिँड्दा उसले आफूले भोग्नुपर्ने कुरा भोग्न सक्छ, सिक्नुपर्ने कुरा सिक्न सक्छ।

नेपाली ट्राभलर्सले हरेक वर्ष सोलो वुमन ट्राभल च्यालेन्ज (सो यात्रा) नामक यात्रा गर्छ। जसमा महिलाहरुले आफ्नो गन्तव्य आफैँ छनोट गर्छन् र एकल यात्रामा निस्कन्छन्, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म।

यात्रा गर्ने मध्येबाट प्रत्येक वर्ष एक जनालाई विजेतासमेत घोषणा गरिन्छ। सो यात्रा सन् २०१८ की विजेता हुन्, पूजा रिजाल। जो काठमाडौंबाट ३३ दिन पैदल यात्रा गरेर सगरमाथा बेस क्याम्प पुगिन्।

पूजा सर्लाहीमा हुर्किएकी हुन्। चार दिदीबहिनीमध्ये उनी सानोमा निकै चकचके स्वभावकी थिइन्। साथीहरु बटुलेर बारी, जंगल, कुना, काल्ला चाहार्थिन्। अर्थात् उनी प्रकृतिसँग नजिक थिइन्। त्यही रुचिले उनलाई २०१७ मा अन्नपूर्ण बेस क्याम्पसम्म पु¥यायो।

एपेक्स कलेजमा पढ्दै गरेकी उनी साथीहरुसँग त्यहाँ पुग्दा जीवनमै पहिलोपटक हिमालसँग निकट भइन्। त्यतिबेला पूजाले महसुस गरिन् उनलाई के मन पर्छ? बच्चा उमेरको उनको चाह अन्नपूर्ण पुगेर ठोक्कियो अनि पूजा झस्किइन्।
किनकि कक्षा पाँच पढ्न काठमाडौं आएकी उनी आईए पढ्दासम्म कतै घुम्न पाइनन्। गाउँजस्तो सहज पनि थिएन काठमाडौं सहर। एपेक्समा स्नातक पढ्न थालेपछि भने केही आँट पलायो। साथीहरुको घुम्न जाने अवसरलाई उनले छुटाउन चाहिनन्। त्यसपछि उनलाई थाहा भयो आफूले देखिराखेको भन्दा फरक संसार कति सुन्दर छ भन्ने।

उनलाई कठिन यात्रा भनेकै सगरमाथाको हो भन्ने थियो। नेपालमा सगरमाथाबाहेक अन्य कठिन गन्तव्य छन् भन्ने उनले कल्पनासमेत गरेकी थिइनन्। त्यसैले पूजाले सगरमाथा बेस क्याम्पको यात्रा तय गरिन्। त्यो पनि हिँड्दै।

‘सगरमाथा बेस क्याम्प सबैभन्दा गाह्रो हुन्छ होला भनेर पनि मैले त्यो यात्रा छनोट गरेकी हुँ’ पूजा भन्छिन्।

१९ नोभेम्बर २०१८, बिहान ८ बजे पूजा पेप्सिकोलाबाट सगरमाथा बेस क्याम्पका लागि हिँडिन्। १३ किलोको भारी झोला बोकेर।

आमालाई भनेकी थिइन्, ‘म जाँदै छु।’ परिवार उदार भएका कारण हुन्छ भनिदिए। तर, एक्लै हिँडेर जाँदैछु भनेकी थिइनन्। केही दिनपछि बल्ल भनिन्। आमा एकछिन छक्क परिन्।

‘छोरी जहाँ गए पनि फर्किएर घर आउँछे भन्ने उहाँलाई थाहा थियो। त्यसैले विश्वास गर्नुभयो’ पूजा मुस्कुराउँछिन्। एउटा शर्त भने थियो, हरेक दिन आमालाई फोन सम्पर्क गर्नुपर्ने।
०००
काठमाडौंदेखि जिरीसम्मको यात्रा पूजाका लागि कष्टकर थियो। किनकि त्यो यात्रा राजमार्गमा गर्नुपर्ने थियो। पहिलो दिन नै उनी २६ किलोमिटर हिँडिसकेकी थिइन्। धुलिखेल पुगुञ्जेल उनको हातखुट्टा सुन्निए।
‘त्यो दिन धुलिखेलको होटलमा बसेर धेरै रोएँ। अब म अघि बढ्न सक्दिन भन्ने लाग्यो’, उनी सुनाउँछिन्, ‘फेरि एक दिन हेरौँ न के हुँदो रहेछ भनेर आँट जुटाएँ र अघि बढेँ।’

चौथो दिनसम्म आइपुग्दा पूजाको घुँडा दुख्न थाल्यो। उनलाई अब म लठ्ठीको सहाराले अघि बढ्न सक्दिनँ भन्ने लाग्यो। गाडी चढेर जाने सोचसमेत बनाइन्।
तर, उनी हार खानेवाला थिइनन्। उनलाई लाग्यो, ‘अहिले म हारेँ भने जीवनदेखि हार्नेछु।’

‘यो मैले आफैँ तय गरेको यात्रा थियो। त्यसैले कहिलेसम्म हार मान्दिन भनेर आफ्नो जाँच पनि लिनु थियो’, पूजा भन्छिन्।
०००
पूजा मुडेतर्फ जाँदै थिइन्। छोटो बाटो जान्छु भन्ने सोचेर उनी गाउँ छिरिन्। हिँडइले उनी थाकिसकेकी थिइन्। धूलो बाटो अनि गर्मी। उनी एक छेउँमा थचक्क बसिन्। भोकले पेट निचोरिरहेको थियो।

उनको अर्कोपट्टि थियो, अम्बाको रुख। तर, उनीसँग अम्बा टिप्ने सामथ्र्य थिएन। त्यतिबेलै एक बृद्ध आएर अम्बाको रुखमा चढे। अम्बा झार्न थाले। पूजा जोडले कराइन्, ‘बाजे मलाई पनि एउटा दिनु न।’ तर, बाजे केही बालेनन्। लौरीले हानेर भूँइमा झरेको अम्बा प्लास्टिकको झोलामा हाले। त्यसपछि सरासर पूजा भए ठाउँ आएर एक झोला अम्बा थमाइदिए। पूजाको खुसीको सीमै रहेन।


उनले तत्काल आफूसँग भएको इन्स्ट्यान्ट क्यामेराले फोटो खिचेर उनलाई दिइन्। वृद्ध खुसीले गदगद् भए। यता पूजाको अवस्था त्यस्तै थियो। अझ रोचक कुरा त के भने ती बृद्ध बोल्न सक्दा रहेनछन्।

‘त्यही दिन सम्झिएर बाँकी तीन दिन मैले आरामले यात्रा गरेँ’, पूजा हर्ष पोख्छिन्।

गाउँले परिवेशमा आउने यस्तै रोचक घटनाक्रमले पुजाको यात्रा सहज बनायो। उनको ऊर्जा भनेकै बाटोमा भेटिने मानिसहरु र उनीहरुले देखाउने आफ्नोपन थियो।


०००
काठमाडौंबाट हिँडेको ९ दिनमा उनी जिरी पुगिन्। त्यहाँबाट देउराली संरक्षण क्षेत्र हुँदै अघि बढिन्। त्यसपछि सेटे, जुनबेसी, लम्जुरा पास, पैयाँ, फाङदिन, नाम्चे, खुम्दे, गोक्यो, चोलापास, नोबुचे हुँदै बेसक्याम्प।

आफूले चालेका हरेक पाइला उनका लागि अविस्मरणीय छन्। र, ती पाइलासँगै भेटिएका मानिससँग बिताएका पलहरु त उनी चाहेर पनि बिर्सन सक्दिनन्।
दोलखाको आहाल डाँडामा एक साँझ बास बस्दा पूजालाई बुहारी बन्न अफर गरियो। काठमाडौंमा इन्जिनियरिङ पढ्दै गरेका छोरासँग बिहे गर्न ती आमाले उनलाई कयौँ पटक आग्रह गरिछन्। फकाइछन्।

‘सुरुमा त त्यसोभन्दा कतै मेरो जबरजस्ती बिहे गरिदिने त होइनन् भन्ने डर पनि लागेको थियो’, अहिले उनी सम्झेर रोमाञ्चित हुन्छिन्। यात्रामा उनले थुप्रै यस्ता अनौठा अनुभव संगालेकी छन्।

सेटेमा लिएको पिँडालुको स्वाद, लम्जुरापासबाट अगाडि बढेपछि ३५ सय मिटर अग्लो ठाउँमा कुहिरो र हुस्सुसँगको संघर्ष स्मरण गर्दा अझै उनलाई रमाइलो लाग्छ। सोलुखुम्बुको जुनबेसीमा चाखेको भोटे चियाको स्वाद, कल्पना गरेभन्दा फरक ठमेलजस्तो नाम्चे बजार, डोलेमा भेटिएका सेता हिमाल, गोक्योका देखेका ६ वटा सेता ताल, त्यहाँबाट पार गर्नुपर्ने हिमनदी ती सबै उनको मस्तिष्कमा रमाइला पल बनेर संग्रहित भएका छन्। हिमपहिरोको खतरामा रहेको ५५ सय मिटर अग्लो चोलापास र त्यसपछिको हिउँको मैदान सबै सम्झँदा दुःखसँगै खुसी पनि आउँछ।

यसरी उनी घना जंगल, सुनसान बाटो, उकालो–ओरालो, घाम–पानी, हिउँसँग संघर्ष गर्दै ३३ दिनमा सगरमाथा बेस क्याम्प पुगिन्। अनि बनिन्, सो यात्राको विजेता।


०००
सो यात्राका विजेतामध्ये एक जनालाई ‘मिस नेपाल ट्राभलर्स’ घोषणा गरिन्छ। जसको काम नेपालीको यात्रा मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा उठाउने हुन्छ। पूजा यसमा पनि छनोट भइन्।
नेपालको प्रतिनिधित्व गर्दै पूजा एक महिनाका लागि ‘मिस नेपाल ट्राभलर्स’ को रुपमा इन्डोनेसिया र म्यानमार जाँदैछिन्। त्यहाँ उनले नेपालीहरु पनि यात्रा गर्छन् भन्नेमात्र बुझाउने छैनिन्, नेपालको गन्तव्य’bout पनि अनुभवहरु साट्नेछिन्। उनलाई थाहा छ, यात्राले देखिने गरी कुनै परिवर्तन गराउँदैन। नदेखिने गरी आत्मबल बढाउँछ, ज्ञान र अनुभव आर्जन गर्ने अवसर जुराउँछ।

‘यात्रा भनेको जीवनको सत्यता हो’ पूजा भन्छिन्, ‘टक्क बसेर कफी पिउने र बाहिरको मनोरम दृश्य हेर्ने भनेर मानिसहरु सोच्छन् तर पर्दा पछाडिका दुःखहरु कति छन् भन्ने कसैले सोच्दैन।’

साहसिक यात्रा
पूजालाई एयर होस्टेज बन्न मन थियो। आईएपछि तीन महिनाको तालिम लिइन्। परीक्षा दिएर इन्टर्नसिप गरिन्। अन्तर्वार्ता दिएर जागिर पनि पाइन्। तर, जागिर गर्दा उनको पढाई बिग्रने भयो। परिवारबाट पनि पढाईका लागि दबाब आयो। त्यसपछि उनले हातमा आएको जागिर माया मारेर स्नातक ज्वइन् गरिन्।

उनको एक वर्ष लस हुनै लागेको थियो। एपेक्समा भर्ना हुन गइन्। ‘बैंकिङ एन्ड इन्स्योरेन्स’ विषयमा मात्र सिट खाली भएको बताइयो। उनले त्यही विषय पढ्ने निधो गरिन्।

स्नातक पढ्दै गर्दा पूजाले पढाइ बाहेकको समयमा जागिर पनि गरिन्। तर, सातौँ समेस्टर पार गरेपछि भने जागिर छाडेर उनी पढाईमा केन्द्रित हुन थालिन्।
यसबीच उनी अन्नपूर्णसँगै मुस्ताङ र कालिञ्चोक पनि पुगिन्। त्यसपछि उनमा नयाँ–नयाँ ठाउँको यात्रा गर्ने चाह बढ्दै गयो।

‘२०१८ मा खुल्नासाथ यात्राका लागि फर्म भर्ने म पहिलो व्यक्ति हुँ’ पूजा भन्छिन्, ‘जीवनमा कहिल्यै एक्लै यात्रा नगरेकी मैले ठूलै साहस बटुलेर यो निर्णय लिएकी हुँ।’
पाँच सयले फर्म भरेका थिए। त्यहाँबाट छानिएकाहरुको गन्तव्य र फोटोसहित त्यसपछि फेसबुक भोटिङ हुन्छ। हजार लाइक कटाउनेहरु सिधैँ अन्तर्वार्ताको चरणमा प्रवेश गर्छन्।

अन्तर्वार्ताबाट ५० जना छनोट हुन्छन्। उनीहरुलाई एक दिने वर्कसप दिइन्छ। त्यसपछिको एक हप्तामा यात्रीहरुले आफ्नो गन्तव्यको सम्पूर्ण जानकारी दिनुपर्ने हुन्छ। कुन रुट जाने, कहाँ बस्ने, कहाँ खाने, होटलको नम्बर आदि। यसबाट २० जना छनोट हुन्छन् र फेरि अन्तर्वार्ता हुन्छ। त्यहाँबाट छानिनेहरु सो यात्राका लागि जान्छन्।

पूजाले पनि यी सबै चरण पार गरिन्।

‘विश्व नेपाली समाजको सुन्दरता महसुस गर्न चाहन्छ तर नेपालीहरु नै आफ्नो देशको सुन्दरता’bout अनविज्ञ छन्’ पूजा भन्छिन्, ‘यात्राले उनीहरुलाई नेपाल चिनाउँदैन मात्र भोलि विश्व भ्रमणको अवसरसमेत प्रदान गर्छ।’

फेरि महिलाहरु घरायसी काम र नारबाजीभन्दा अलि पर पनि त पुग्न पाउँछन्। सो यात्राको उद्देश्य पनि यही हो।

महँगो छैन यात्रा
‘यात्राले सांस्कृतिक पक्ष, भेषभूषा, रहनसहन, रीतिरिवाज, भूगोल, प्राकृतिक सुन्दरता बुझ्न सहयोग पुर्याउँछ’ पूजा भन्छिन्, ‘मानिसले जति पढोस्, जति अरुको कुरा सुनोस् या जति भिडियोहरु हेरोस् तर त्यस ठाउँमा आफू स्वयं उपस्थित नभई त्यहाँको सुन्दरता महसुस गर्न सक्दैन।’

मानिसको सोचाइ र जीवन भोगाइको महसुस गर्न पाउनु यात्राको विशेषता हो भन्ने लाग्छ पूजालाई। उनी आफ्नो अनुभवलाई विभिन्न सेमिनारहरुमा बाँढ्दै पनि हिँड्छिन्।

घुम्ने सबैलाई रहर हुन्छ। तर, पैसा हुँदैन। त्यसपछि मानिसहरु पछि हट्छन्। तर, घुम्न धेरै पैसा लाग्छ भन्ने भ्रममात्र हो।

पूजाले सगरमाथा बेसक्याम्पको यात्राका लागि जम्माजम्मी ८२ हजार रुपैयाँ खर्च हुने अनुमान गरेकी थिइन्। तर, खर्च कसरी घटाउने भनेर अध्ययन गरेपछि ३६ हजारमा यात्रा सम्पन्न हुने देखिन्। अन्तिममा त २५ हजारमात्र खर्च भयो।
‘मलाई त अचम्म लाग्यो’ पूजा आफ्नो अनुभव साट्छिन्, ‘अध्ययन गर्यो भने नेपालमा घुम्नलाई धेरै पैसा लाग्दैन। १५ हजारमा एक हप्ताको दुई स्थानको यात्रा गर्न सकिन्छ।’

युवामा यस’bout धेरै ज्ञान छैन। उनीहरु ५०–६० हजार जम्मा गरेर कुनै दिन घुम्न जाने योजना बनाउँछन्। पूजा आफू ८ दिनको लागि च्छो–रोल्पा पुगेर आउँदा जम्मा ८ हजार खर्च भएको बताउँछिन्।

नेपालको जुनसुकै ठाउँमा जाँदा दैनिक पन्ध्र सयभन्दा धेरै खर्च नहुने उनको अनुभव छ।

कृष्ण आचार्य/नेपालखबर डट कम

वर्ष सोलो वुमन ट्राभल च्यालेन्ज विजेता पूजा रिजाल। तस्बिरहरुः प्रविन कोइराला

Leave a Comment