कला र संस्कृति

‘नेपाल चिनाउने कलाकार’ (फोटो फिचर)

नेपाल घुम्न आएका विदेशीले आफ्नो देश फर्कने बेला सम्झनाको चिनो के लैजालान्?

झन्डै दुई दशकदेखि लाजिम्पाटमा ग्यालरी चलाइरहेका नरबहादुर विकको अनुभवले भन्छ– हिमाल, नेपाल आउने धेरै पर्यटकको पहिलो रोजाइमा हिमालको चित्र पर्छ। धेरैले चिनोका रुपमा पनि त्यहीँको परिवेश उतारिएको चित्र लैजान्छन्।

यसबाहेक पहाडी परिवेश र बुद्धका चित्र पर्यटकका प्राथमिक रोजाइ हुन्। पर्यटकका यस्तै रोजाइ अनुसारका चित्र बनाउनु कलाकार नरबहादुर विकको नियमित काम हो। उनको ग्यालरी हिमाल र पहाडका क्यानभासले भरिएका छन्। ललितकला क्याम्पसबाट मूर्तिकलामा स्नातकोत्तर गरे पनि उनको काम चित्रकलामै केन्द्रित छ।

उनी व्यावसायिक कलाकार हुन्। व्यवसायिक माग भएका हिमाल, पहाड र बुद्धका चित्रमा दक्षता हासिल गरिसकेका छन्। दुई दशक लामो अभ्यासले उनलाई चिन्नेहरूले हिमालका सुन्दर चित्रमार्फत् ‘नेपाल चिनाउने कलाकार’को उपमा दिएका छन्।

२०५७ सालमा पहिलोपटक आफ्नो एकल प्रदर्शनी गरेयता उनले १४ वटा एकल प्रदर्शनी गरिसकेका छन्। चित्रकारकै रुपमा भारत, बंगलादेश, दक्षिण कोरिया, चीन, जापान र युरोपका धेरै देश घुमेका छन्।

क्यानभासमा हिमाल-पहाडका चित्र कोर्ने यी कलाकारको जन्मथलो देहात हो, नवलपरासीको सरावल गाउँ। थारू गाउँमा हुर्केका उनी कला र सीपमा धनी दलित परिवारमा जन्मेका हुन्। आमाबुबा, हजुरआमा-हजुरबुबाहरू मचिया, डोको, खाट, परालको गुन्द्री लगायत बनाउँथे। बुबा गाउँका घर मर्मत गर्नेदेखि रङ पोत्नेसम्मका काम गर्थे।

नागपञ्चमीमा थारू समुदायले बनाउने गुडिया कलात्मक लाग्थ्यो उनलाई। दुर्गा र लक्ष्मीपूजामा पूजिने ठूल्ठूला मूर्ति हातैले बनाइएका हुन् भन्ने सुन्दा ताजुब लाग्थ्यो। नरबहादुरको कला सौन्दर्य चेत यस्तै परिवेशले निर्माण गर्यो।

कलाकार बन्न प्रेरित गर्ने सन्दर्भ चाहीँ अर्कै छ।

उनको मामाघर खजुरी जाने बाटोमा एकजना आफन्त दाइको घर पर्थ्यो। गोल्डी नामका ती दाइको घरको भित्तामा चित्र र साइनबोर्ड झुन्डाइएको देखेर आकर्षित उनी हुन्थे। गोल्डी बुटवलमा पसल थापेर व्यवसायिक रुपमै साइनबोर्ड र चित्र बनाउँथे।

गोल्डी’bout आफन्तबाट सधैं तारिफ सुन्दा उनमा पनि त्यही पेसा अपनाउने रहर बलियो बन्दै गयो। स्कुलमा गुरुहरू विज्ञान र स्वास्थ्यजस्ता विषय पढाउने बेला नरबहादुरलाई बोर्डमा चित्र कोर्न लगाउँथे। उनका लागि यो साथीसंगीमाझ ‘हिरो’ बन्ने अवसर थियो। यस्ता अवसरले उनको गोल्डी दाइजस्तै कलाकार बन्ने रहरलाई थप बल दिन्थ्यो।

उनी सम्झन्छन्, ‘आठ कक्षामै हुँदा गोल्डी दाइसँग साइनबोर्डमा लेख्न सिकाइ मागेको थिएँ। शुद्धसँग लेख्न पहिला एसएलसी सकाउनुपर्छ भन्नुभयो।’

०५४ सालमा एसएलसी दिनेबित्तिकै उनी बुटवल पुगे। केही समय गोल्डीसँग काम सिके। गाउँ हुँदा नरबहादुर साथीहरूसँग मिलेर माटोको टिभी बनाउँथे। त्यसमा कागज टाँसेर हिरो-हिरोइनको अनुहार कोर्थे। सिनेमाले पारेको प्रभाव थियो त्यो। भिडिओमा सिनेमा हेर्न विशेष अवसर कुर्नुपर्थ्यो।

बुटवल पुगेपछि सिनेमा हल नजिक भयो। उनलाई सिनेमाभन्दा बढी हलअगाडि टाँसिने पोस्टर र ठड्याइने ठूला ब्यानरले बढी आकर्षित गर्थ्यो।

राजेश हमालको ‘चट्याङ’ सिनेमाको ब्यानर सम्झँदै उनी भन्छन्, ‘दुई तलाभन्दा अग्लो ठूलो ब्यानर कसरी बनाउँछन् होला भनेर टोलाउँदै तीन-चार घन्टा बित्थ्यो। मान्छे सिनेमा हेरेर फर्किसक्दा पनि म हलअगाडि बसेर टोलाइरहन्थेँ।’  

एसएलसी परिणामपछि थप अवसर खोजीमा उनी काठमाडौं आए र फुपूका छोरासँग बस्न थाले। आएको भोलिपल्ट चाबहिलतिर डुल्न निस्केछन्। संयोगले ‘पेन्टर बाबु’ लेखेको पसल देखे। त्यहाँ काजोल र अभिताभ बच्चनको पोस्टर बनाउने काम हुँदै रहेछ।

‘पैसा नदिए पनि खान-बस्न पाए काम गर्छु भन्ने सोचेँ। पसलमा मान्छे चाहिएको रहेछ। महिनाको दुई हजार पाउने गरी काम सुरू भइहाल्यो,’ उनले सुनाए।

हात निकै छिटो चल्ने र मेहनति भएकाले नरबहादुरले तलबको साटो स्क्वायर फिटका आधारमा पैसा पाउन थाले, ‘दोस्रो महिनामै पाँच हजार कमाएँ।’

सामाखुसीबाट चाबहिल जाँदा–आउँदा मैतिदेवीमा ३० फिटसम्मको ब्यानर बनाउने ठाउँ देखे उनले। 

‘मलाई अक्षर लेखेकोभन्दा पनि टक्क राजेश हमालको गालामै पोतेको हेर्ने रहर लाग्थ्यो। त्यहाँ पनि बुटवलमा जस्तै घन्टौं बिताउन थालेँ,’ उनले सुनाए।

तर यो काममा लागेकाको आर्थिक अवस्था नाजुक भएको महशुस उनले गरे। भने, ‘यो क्षेत्रमा औपचारिक पढाइ भयो भने मात्रै भविष्य राम्रो बन्छ भन्ने लाग्यो। ललितकला क्याम्पस भर्ना भएँ।’  

चार बहिनीका एक्ला दाजु उनमा आर्थिक रुपले बलियो बन्ने दबाब छँदैथियो। कलेज पढ्न सामाखुसीदेखि जमलसम्म हिँड्थे उनी। सोह्रखुट्टेबाट ठमेल जाने बाटोका पसलमा हिमालका चित्र देखेपछि पाइला त्यतै मोडिन थाले। ठेक्कामा काम लिएर पढ्दै गरेका उनले ठमेलकै पसलेबाट काम पाएपछि चाबहिलको काम छोडे। चाबहिलमा काम गर्दा नै पिपलको पातमा सगरमाथा, बुद्ध बनाउने काम आउँथ्यो। 

भन्छन्, ‘दिनको दुई-तीन वटासम्म चित्र बनाउँथे। सजिलो काम थियो। नयाँ सिक्न नपाइने जस्तो लागेर छोड्दिएँ।’

प्रमाणपत्र तह पढ्दै गर्दा आँट बटुलेर ग्यालरी खोले। हिमाल र बुद्धका चित्र बढी बिक्छन् भन्ने बुझेका उनले विदेशी ग्राहक लक्षित गरी बनाउन थाले। २०६१ सालतिर किम नामका एक जना कोरियन कविले उनलाई रङ र क्यानभास बोकेर अन्नपूर्ण आधार शिविर जाने प्रस्ताव राखे। कविता लेख्ने किम आफ्नो कविताको विषयअनुसार चित्र बनाउन चाहन्थे।

किमसँगको सहकार्य नरबहादुरको जीवनकै महत्वपूर्ण मोड बन्यो। काम गर्ने शैली फेरियो। औपचारिक पढाइले पनि अरू देशका कला-शैली बुझ्न सघायो। 

घरिघरि नेपाल आउने किमसँग उनको दोस्ती जम्यो। किमकै संगतमा उनी कोरिया पुगे। त्यहाँका प्रदर्शनी अवलोकन गरे। ठूल्ठूला क्यानभास, कलात्मक तेल चित्र, प्रकृति प्रयोग गरिएका पातजडित चित्रले काममा नयाँ शैली आवश्यक रहेछ भन्ने भयो। परम्परागत शैलीमै आधुनिक रुप दिइएका कोरियाली चित्रकलाबाट प्रभावित भए उनी।

सुनाउँछन्, ‘कोरिया भ्रमणपछि आफ्नो काममा आधुनिक शैली चाहिने महशुस भयो।’

त्यसलगत्तै बंगलादेश भ्रमणमा उनले अर्को कुरा सिके, हरेक कलाकारले अंग्रेजी र बाङ्ला भाषामा आफ्नो क्याटलग बनाउने रहेछन्। फर्केर एक वर्षमा ४० पेज लामो क्याटलग बनाए। 

युरोप पुग्दा सेतो फ्रेमको चलन देखे। जापान र कोरियामा स्टिल फ्रेम देखेका थिए। देखेका कुराबाट सिक्ने बानीले नरबहादुरलाई समयसँगै प्रतिस्पर्धी भएर हिँड्न सिकाइरहेछ।

उनको अधिकांश समय ग्यालेरीमै बित्थ्यो। किमसँग अन्नपूर्ण आधार शिविर डुल्न गएपछि उनले बिहानदेखि मध्यरातसम्म प्रकृतिका अनेक रूप-रङ देखे। हावा, घाम र पानीले पार्ने प्राकृतिक ‘इफेक्ट’ले उनको चित्रकलामा विविधता ल्याएको देख्न सकिन्छ।

‘जुनेली रातमा टल्केका तारामुनि हिमाल टिलटिल भएर पगालेको चाँदीजस्तै टल्कने रङ हेर्न घुम्नैपर्ने रहेछ। छिनछिनमा बदलिने मौसम र मौसमसँगै बदलिने हिमालको रङ देखेपछि मात्रै प्रकृतिको जादू थाहा हुने रहेछ,’ उनले सुनाए।

यो नौलो अनुभवले उनमा यति प्रभाव पार्यो, घुमेरै चित्र कोर्नु उनको काम गर्ने शैली बनिसकेको छ। बाह्रै महिना कुर्दा पनि देख्न मुश्किल खास क्षणका प्राकृतिक रूप-रङ आफ्नो क्यानभासमा ल्याउन घुम्नैपर्ने उनी बताउँछन्।

२०६६ सालदेखि वर्षमा चार-पाँचपटक भ्रमणमा निस्कने उनको साधन प्रायः मोटरसाइकल हुन्छ। बेलाबेला विदेशी कलाकारलाई पनि घुमाइरहेका हुन्छन्।

भ्रमणमा सधैं रमाइलो मात्र हुँदैन।

‘एक पटक रसियनसँग घुमेर फर्किँदा बुटवलमै पैसा सकिन लागेको थियो,’ छ वर्षअघिको घटना सुनाए, ‘यस्तो बेला पोखरा पुगेर पेन्टिङ बनाएर हाताहात बेचेर संकट टर्यो।’

रङ-क्यानभास बोकेर घुम्दै काम गर्ने शैली खर्चिलै हुने भयो। कहिलेकाँही महिनाको तीन सातासम्म बाहिरै हुन्छन्। यस्तो बेला अन्तिम एक साता काम गरेर घरभाडा उठाउनुपर्ने दबाब हुन्छ।

भन्छन्, ‘छिटो काम गर्न सक्ने बानीले लाजिम्पाटजस्तो महँगो ठाउँमा टिकिरहेको छु।’

चित्रकार तथा समीक्षक केशव खनाल नरबहादुरसँग १८ वर्ष संगत गरिसकेका साथी हुन्। नरबहादुरकै ग्यालरीमा भेट भएका उनी भन्छन्, ‘नरबहादुरले एकैदिन ३६ वटासम्म पेन्टिङ बनाउनुभएको देखेको छु। यो दुर्लभ स्पिड हो। उहाँको काममा कन्सिस्टेन्सी छ।’

जति छिटो काम, उति धेरै खटाइ।

‘दैनिक १० घन्टाजति काम गर्छु। बाहिर गएका बेला पनि दुई-चार वटा पेन्टिङ बनाइरहकै हुन्छु,’ नरबहादुर भन्छन्। कामको चाप भएका बेला त उनी बिहान ८ बजेदेखि राति १० बजेसम्म ग्यालरीमै भेटिनेरहेछन्।

‘विके आर्ट ग्यालेरी’ नामका उनका दुइटा ग्यालरी छन्। एउटामा उनी र अर्कोमा उनकी श्रीमती प्रमिला परियार बस्छन्। उनले श्रीमती’bout जानकारी दिँदै भने, ‘प्रेम विवाह हो। उनी पनि आर्टिस्ट हुन्। ललितकला पढ्ने बेला मभन्दा दुई ब्याच जुनियर थिइन्।’

यो कलाकार दम्पत्ती छोरीको पनि सानै उमेरमा चित्रकलाप्रति रूचि देखेर दंग छ। खुसी साट्दै भन्छन्, ‘छोरी आभाले स्कुलमा चित्रकारकै परिचय बनाइसकिन्।’ 

‘विके आर्ट ग्यालरी’कै नामबाट उनले युट्युबमा चित्रकला सिकाउने भिडिओहरू पनि राखेका छन्। 

कला र पर्यटनलाई सँगै जोड्ने असीमित सम्भावना रहेको पनि उनी बताउँछन्।

भन्छन्, ‘विदेश जाँदा प्रायः हिमाल र बुद्धको मूर्ति बोकेर जान्छु।’ 

‘कला क्षेत्रका साथीसँग मिलेर विदेशी कलाकारलाई नेपाल बोलाउने काम पनि गर्छन्। गत बुधबार विके ग्यालरीको आयोजनामा नेपाल आर्ट काउन्सिलमा ‘आर्ट फेस्टिभल’ कार्यशाला भएको थियो। यसमा भारतीय कलाकार पनि सहभागी थिए। यसपछि चित्रकला प्रदर्शनी गर्ने उनको योजना छ।

‘बाहिरका कलाकारसँग मिलेर काम गर्दा उनीहरूको काम र अनुभवबाट सिक्न पाउँछौं। अर्कोतिर हाम्रो कला र पर्यटन क्षेत्र प्रचारप्रसारमा फाइदा पुग्छ,’ उनी भन्छन्।

सबै तस्बिर सौजन्यः नरबहादुर विक

प्रभाकर गौतम/सेतोपाटीबाट

Leave a Comment