वातावरण र वन्यजन्तु

पाँच पोखरी डायरी (तस्बिरहरू)

  •  
  •  
  •  
  •  
  •  

दैनिक व्यस्त जीवन अनि यो काठमाडौंको कोलाहलबाट छुटकारा पाउन कसलाई पो मन नहोला र!

त्यही भएर कम्तीमा पनि वर्षको एक पटक रिफ्रेसमेन्टको लागि घुम्न गइरहन्छु।  सुन्दर, शान्त र रमणीय ठाउँमा।

यसै दौरान गत भदौमा जनैपूर्णिमामा सिन्धुपाल्चोकको पाँच पोखरी जाने अवसर मिल्यो। पाँच पोखरी’bout नसुनेकी होइन तर आफैंले भने त्यो ठाउँको अनुभव लिन जुरेको थिएन।

यसपटक भने पाँचपोखरी थाङपाल गाउँपालिका ३ ले त्यहाँ जाने अवसर जुराइदियो।

त्यहाँका वडाध्यक्ष निग्मा छिरिंग शेर्पाले जनैपूर्णिमाको अवसरमा ‘हाइ अल्टिट्युड दौड प्रतियोगिता’ हुने जानकारी दिए।

नयाँ ठाउँमा नयाँ अनुभव लिन जाने सोचेरै मन फुरुंग भयो।

साउनको २७ गते बिहानै बौद्धबाट सुमेरु भ्यान चढेँ।

बसमा जानलाई भने नयाँ बसपार्कबाट चढ्नुपर्ने रहेछ।

बस भनेपछि त्यसै डर लागेर आउँछ। फेरि मनसुनको यात्रा, बाटा चिप्ला र पानीले गर्दा बिग्रेका हुन्छन्। ठूला गाडी भारको कारण थुप्रै फसेको देखेको छु। त्यसैले भ्यानमा जाने निर्णय गरें। ट्रेकिङ ब्यागमा दुइटा क्यामरा, दुइटा लेन्स र एउटा ओज्मो कपडा र केही खाने कुरा थियो।

बौद्धबाट बिहान ६ बजे यात्रा सुरू भयो। मन फुरुंग।

बौद्धदेखि साँखु हुँदै मेलम्ची पुगिदो रहेछ। उता काभ्रे हुँदै जाने बाटो लामो दूरीको हुने भएकाले साना गाडी भने यो रूटबाट चल्दा रहेछन्।

११ बजेतिर मेलम्ची पुगेर खाना खाएँ।

नेटवर्क देखेर आमालाई आफू मेलम्ची आइपुगेको र खाना खान लागेको जानकारी गराए। म ट्रेकिङ निस्किँदा खासै घर परिवार र साथीभाइ कसैलाई फोन गरिराख्न रुचाउँदिनँ।

त्यही आमालाई ‘सायद अब यहाँबाट नेटवर्क हुँदैन होला, भेटिएको खण्डमा आफैं फोने गर्छु’ भनेर सुनाए।

खाना खाइवरी यात्रामा अघि बढें।

बौद्धदेखि मेलम्चीसम्मको यात्रामा मेरो साथी थियो एयरफोन। मैले एयरफोन लगाएर गीत सुन्दै बसेकोले यात्रा अवधिभर खासै वातचित भएन।

मेरो कान खाली देख्न साथ मसँगै बसेकी महिला सोधिन्, ‘कहाँसम्म जान लाग्नु भयो?’

सुरूमा मसँग बोलेको हैन कि जस्तो लगेर मैले प्रतिक्रिया दिइनँ।

उनले फेरि अर्को सहयात्रीसँग ‘आच्या कुइरिनि रै’छ कि क्या हो?’ भनेको सुनेपछि मैले हाँस्दै जवाफ दिएँ।

‘ए दिदी हैन, मैले अरुलाई नै भन्नु भएको हो कि!भन्ठानेर नबोलेको, नेपाली नै हो म,’ मैले भने।

‘मैले त तपाईं गोरी नि हुनुहुँदो रै’छ अनि बोलेको उत्तर नदिएको देखेर विदेशी पो हुनुहुँदो रै’छ भनेको।’

‘कहाँ जान लाग्नु भयो?’

‘पाँच पोखरी’

‘सक्नु हुन्छ?’

‘सकिँदैन र?’

‘ज्यान हेर्दा त सक्नु हुन्न होला पो त है’

‘ज्यानमा नजानुस्, खाइलाग्दो देखिन्छु, हिँड्न मज्जाले सक्छु।’

माहोल एकछिन रमाइलो बन्यो। 

मेलम्चीबाट हेलम्बु जाने बाटोबाट छुट्टिएर भोताङ जाने उकालो लागियो। बर्खाका कारण बाटो हिल्लामे थियो।

हिलोमा दबिँदै कति ठाउँमा ओर्लिंदै हिँड्दै थियौं। जति उकालो लागिँदै थियो बस्ती पातलो हुँदै गयो अनि हावाको पनि बेग्लै बास्ना।

पानी भनेसी हुरुक्कै हुने मान्छे। बाटोभरि साना झरना र खोला देख्दा त झन् अरु केही चाहियो र!

गाडीमा हामी पाँच जना सवार थियौं गुरूजीसहित।

अघिकी दिदीले अनि पहिलो चोटि हो? भन्दै बोल्न खोजिन्। मैले बेलिविस्तार सुनाएँ।

उहाँहरू सबै भोताङबासी। जनैपूर्णिमा मनाउन घर जाँदै हुनुहुँदो रहेछ।

‘अनि दिदी तपाईंहरू पुग्नु भएको छ कि छैन त?’

‘पुगेको, तर एकदम गाह्रो लाग्यो, ३० वर्षमा एकचोटि मात्र पुगें म’

‘त्यस्तो गाह्रो छ र?’

‘मलाई त गाह्रै लाग्यो’

कुरा सक्न नपाउँदै फेरि ती दिदीले भनिन्।

‘थाहा छ त्यहाँ त धर्म गरेका मान्छेहरूले सेतो एकजोडी हाँस पोखरीमा खेलिरहेको देख्छन रे नि, तर पापीले चाहिँ देख्दैनन् रे’

मैले हाँस्दै सोधें,‘तपाईंले देख्नुभयो त?’

‘अ देखेको नि, कस्तो राम्रो थ्यो, परबाट देखेको’

सायद उनले उनी धर्मात्मा हुन् भनेर सुनौन खोजेकी हुन् कि जस्तो नि लाग्यो। 

हरिया रुखले भरिएका पहाड, सेतो झरना र कल्कलाउँदो खोलाहरूको दृश्यसँगै साँझको करिब ५:३० तिर भोताङ गाउँ पुगें।

भोताङ गाउँ

कल्पनाको भन्दा निक्कै फरक भोताङ।

भोताङमा पुगेपछि ३ नम्बर वडाका अध्यक्षसँग भेट भयो। उहाँले त्यहाँको एक शेर्पा होटलमा लानु भयो।

भोताङसम्म बत्तीको सुविधा रहेछ। क्यामरा चार्जमा राखी बाहिर डुल्न निस्किएँ।

इन्द्रावती झरना तर्ने पुल

भोक लागेकोले एउटा खाजा घरमा पसें।  

सबै नयाँ अनुहारको भीडमा फ्याट्ट एक चिनेको अनुहार देखें। झुक्किए हैन होला भन्दै, तर त्यो अनुहार अगाडि बढ्दै गएसी पक्का भएँ।

ऊ मेरो पोखराको साथी रिशव अधिकारी थियो।

रिशवलाई त्यहाँ देख्दा खुसी लाग्यो। एकछिन गफ्फियौं। त्यसपछि आ आफ्नो होटलतिर लाग्यौं।

थकाइ लागेकोले खाना खाइसकेपछि म छिट्टै सुतें।

मंगलबार बिहान बाहिरको गाइँगुइँ आवाजले निन्द्रा खुल्यो। मान्छेहरू हिँड्न थालिसकेका रहेछन्। घडी हेर्दा ४ बजेको थियो।

यति छिट्टै हिँडेर के गर्नू!, सुत्छु एकछिन भनेर सुतें। ७ बजे निन्द्रा पुर्याएर सामान बाँधेर निस्किएँ।

भोताङदेखिको पैदल यात्रा सुरू भयो। अलि माथि पुगेपछि इन्द्रावतीको आवाज सुनिन थाल्यो। कौतुहलताले छिटो छिटो हिँडायो। नजिक पुग्दा विशाल झरना र चिसो हावाले लठ्ठ बनायो।

‘अविरल बग्दछ इन्द्रावती’ भन्ने सानोमा हेरेको टेलिनाटकको सम्झना आयो। इन्द्रावती झरनाको पुलबाट भने कठिन उकालो यात्रा देखिँदै थियो।

जनैपूर्णिमाको लागि पाँच पोखरी जाँदै गरेका झाँक्री


ठाडो…

विश्राम लिँदै गोठालो 

माथि पुगेर तल पाँचै वटा पोखरी हेर्दा सबै थकान बिर्सें। नीलो आकाशमुनि नीलै पानी भएको पाँच पोखरी स्वर्गीय आनन्द दिलाउने थियो। पछाडिपट्टि जुगल हिमालको लहर झन् मन नै लोभ्याउने।

एकैछिन त्यहाँको तस्बिर कैद गरेपछि सामान प्याक गर्न थालें। र पाँचपोखरीलाई बिदा गर्दै भोतांगसम्मको यात्रा आगाडि बढाएँ।

पुल तर्दै यात्री र भरिया 

उकालो चढ्न भन्दा ओरालो झर्न मुश्किल लाग्छ मलाई। नदुखेका पिडुलाका मासु दुख्न थालिसकेका थिए। घुँडा नि बिग्रेको मेसिन जस्तै ट्वार ट्वार गर्दै आवाज निकाल्न थालेको थियो।

घाम डुब्दै गर्दा भोतांग बजार पुगें।

सिन्धुपाल्चोकको बसाइँको अन्तिम दिन थकाइ मारेर बिताएँ। 

काठमाडौंको कोलाहलबाट हरेक वर्ष टाढा जाने कोशिस गर्छु। पहिला आफ्नै देश अनि विदेश भन्ने सोच राखेर नेपालमै भएको सबै मनोरम ठाउँहरू घुम्ने प्रयासमा छु। लुकेर बसेका अनगिन्ती ठाउँ अझै बाँकी छन्। एकदिन अवश्य पुग्नेछु।

काठमाडौंबाट ६ दिन छुटेर बिताएका ती पल मन अनि मस्तिष्कमा कैद गरेर फर्किएँ फेरि आफ्नै दैनिकीमा।निशा भण्डारी/सेतोपाटी

कुण्डमा डुबुल्की लगाउँदै भक्तजन 
पाँच पोखरीबाट देखिएको रातको दृश्य

Leave a Comment