पर्यटन

अफ्ठ्यारो परिस्थितिसँग जुध्न चीन सरकारको प्रयासप्रति ऐक्यबद्धता

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयले यस वर्ष चीनबाट पर्यटकको उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको थियो । त्यही अनुसार चीनमा प्रचारप्रसारलाई पनि केन्द्रीत गरेको थियो । तर अचानक चीनको वुहानमा देखापरेको कोरोना भाइरसका कारण त्यसो हुन सकेन । पर्यटकको विकल्प खोजी रहेको नेपाल भ्रमण वर्ष सचिवालय र होटेल एशोसियसन अफ नेपालले चीनले भोगी रहेको संक्रमणले उत्पन्न गराएको समस्याप्रति दुःख व्यक्त गरेको छ।

होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष सचिवालय २०२० ले संयुक्त विज्ञप्तिमार्फत अफ्ठ्यारो परिस्थितिसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति ऐक्यवद्धता जनाउँदै दुःख व्यक्त गरेको हो। हानका अध्यक्ष सिर्जना राणाले भ्रमण वर्षको सुरुवाती महिनामा केही चिनियाँ पर्यटक कम आउने भए पनि होटलमा भएका पाहुनालाई कोरोना भाइरसको पूर्वसावधानी अपनाउन र संकेत देखिनेबित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको बताउनुभयो ।
विश्वमा देखिएको भाइरसको संक्रमणबाट पर्यटन व्यवसायी र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय विचलित नभई अन्य छिमेकी मुलुकबाट लक्ष्यअनुसार पर्यटक भित्र्याउन अहोरात्र खटिरहेको उहाँले बताउनुभयो। भारत, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसियालगायत मुलुकबाट पर्यटक भित्र्याउन खटिरहेको उहाँले जनाउनुभयो ।

नेपाल भ्रमण वर्ष सचिवालय संयोजक सुरज वैद्यले चिनियाँ पर्यटक कम हुँदा होटल व्यवसायी मात्रै नभएर कृषक र ट्याक्सी चालकसमेत समस्यामा परेको बताउनुभयो । नेपाल भ्रमण वर्षको प्रचारसँगै कोरोना भाइरसका विषयमा पनि सचेत रहन र यसबाट कसरी जोगिने भन्ने विषयमा सन्देश दिन अभियानै सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

Leave a Comment