पर्यटन

गण्डकीको अन्नपूर्ण क्षेत्रमा थप चारवटा पदयात्रा मार्ग

  •  
  •  
  •  
  •  
  •  

पदयात्रा पर्यटननमा ख्याती कमाएको गण्डकी प्रदेशमा थप चारवटा पदयात्रा मार्ग पहिचान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको पहलमा ती पदयात्रा मार्गहरु पहिचान गरिएको हो । सचिवालयले गरेको पत्रकार सम्मेलनमा पथप्रदर्शक आलोक तुम्बाहाम्फेले ती पदयात्रा मार्गको फेहरिस्त प्रस्तुत गरेका थिए । पहिचान गरिएका पदयात्रा मार्ग सञ्चालन पनि भईसकेको उनले बताए ।

पहिचान भएकामा ‘सेभेन पासेज अन्नपूर्ण सर्किट’, ‘लाली गुराँस ट्रेक’, ‘यार्चा ट्रेक’ र ‘नार फु सर्किट ट्रेक’ रहेका छन् । यि मध्ये सेभेन पासेज अन्नपूर्ण सर्किट सबैभन्दा लामो रहेको छ । यो रुट १८ दिनको छ । तर लामो समय पदयात्रामै रमाउन चाहने पर्यटकलाई भने २१ दिनको पनि बनाउन सकिने आलोकले बताए ।

यस अघि अन्नपूर्ण सर्किट २१ दिनको थियो । गाउँमा मोटरबाटो पुग्न थालेपछि घटेर ७ दिनमा झरेको थियो । मनाङ्सम्मै मोटरपुगेपछि त अहिले चार दिनमा झरेको छ । लामो समय पदयात्रा र स्थानीय मौलिक संस्कृतिमा रमाउन चाहने पर्यटकको आवश्यकतालाई ध्यानमा राखेर यो पदयात्रा मार्गको पहिचान गरिएको आलोकको भनाई छ ।

सेभेन पाजेस अन्नपूर्ण सर्किट मनाङ्को तालबाट शुरु भएर काङ्ला फेदीमा पुगेर सकिन्छ । एकदिन मनाङ्मा विश्राम गरेपछि घर फर्किन सकिन आलोकले जानकारी दिए । त्यसैगरी लालीगुराँस ट्रेक मनाङ्कै तालबाट शुरु भएर धारापानी पुगेर सकिन्छ । यो पदयात्रा मार्ग ९ दिनको रहेको छ । यार्चा ट्रेक भने ७ दिनको बनाईएको छ । यो पदयात्रा पनि मनाङ्को तालबाट शुरु भएर कोतोमा पुगेर सकिन्छ । यसैगरी नार फु ट्रेक पनि धारापानीबाट शुरु भएर मनाङ्को नाग्यालमा पुगेर सकिने जनाईएको छ ।

तर यि पदयात्रा मार्गमा विदेशी पदयात्रीले तेहेरो परमिट तिर्नुपर्ने भएका कारण यसलाई समायोजना गर्नुपर्ने सुझाव पनि दिईएको छ । टानले लिने टिम्स, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले लिने प्रवेश शुल्क र मनाङ्कै नार र फु मा जाँदा तिर्नुपर्ने विषेश शुल्कका कारण पर्यटकहरुलाई आकर्षण गर्न कठीन हुने उनले बताएका छन् ।

यस्ता ठाउँमा पदयात्रा गर्दा तालिमप्राप्त गाईडहरु लैजान पनि सुझाव दिईएको छ । पदयात्रा विभिन्न स्थानमा टेण्ट प्रयोग गर्नुपर्ने भएकाले विषेश व्यवस्था गर्न पनि सल्लाह दिईएको छ । नेपालको पुरानो पदयात्रा मार्ग अन्नपूर्ण सर्किटकमा पर्यटकको चाप भएका बेला यि पदयात्रा मार्ग पनि उत्तिकै रोमाञ्चकारी हुने आलोकले बताए ।

सिजनको बेलामा अन्नपूर्ण सर्किटमा पर्ने होटलमा भुईंमा सुत्न पनि नपाउने समस्या यि पदयात्रा मार्गले हल गर्ने विश्वास तुम्बाहाम्फेले गरे । नयाँ पदयात्रा मार्गमा नयाँ नयाँ मौलिक संस्कृति भएको र यस क्षेत्रमा पर्र्ने हिमाललाई फरक कोणबाट हेर्न पनि सकिने उनको भनाई छ ।

यि पदयात्रा मार्ग प्रयोग गर्दा मुस्ताङ्को ठिनी गाउँलाई पनि फाईदा पुग्ने उनको विश्वास छ । ठिनी गाउँ मुस्ताङ्कै पुरानो गाउँ भएपनि त्यहाँ पर्यटक पुग्न नसकेको उनको भनाई छ । पदयात्रा मार्ग पत्ता लागेपनि यसको नक्सा नबन्दा पर्यटकलाई कठीनाई भएको उनको भनाई छ । स्थानीय बासिन्दाले बल्ल पदमार्गहरु मर्मत गर्न थालेकोले अब त्यहाँको पर्यटनमा सुधार आउने उनले विश्वास गरे ।

कार्यक्रममा मुस्ताङ्का प्रदेश साँसद ईन्द्रधारा विष्ट, नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेशका सह संयोजक अग्नी कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत सन्तोष शेरचन, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठ लगायतले नेपालको आर्थिक विकासको लागि पर्यटन नै प्रमुख साधन भएको र नेपालको पर्यटनको आधार भनेकै पदयात्रा पर्यटन भएकाले पदयात्रा मार्गहरु जोगाउँदै पर्यटनको विकास गर्नुपर्नेमा जोड दिएका थिए । परिचय नेटवर्क

Leave a Comment